"समावेशी र सन्तुलित विकास समृद्ध अजयमेरुको मुल आधार !!

 

अजयमेरु गाउँपालिका परिचय:

अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको उत्तर पश्चिम दिशामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा अमरगढी नगरपालिका, पश्चिममा बैतडी जिल्लाको मेलौली न.पा., उत्तरमा बैतडी जिल्लाको पाटन न.पा र दक्षिणमा भागेश्वर गा.पा. रहेका छन्। साबिकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गा. बि. स.हरू मिलेर बनेको यस गाउँपालिकामा हाल ६ वडाहरू रहेका छन्। १४९.६२ वर्ग कि.मि. क्षेत्रफल ओगटेको यस पालिकाको ३,४५३ घरधुरीमा ८,१४० जना महिला र ७,०२१ जना पुरुष गरी जम्मा १५,१६१ जनाको बसोवास रहेको छ भने ८८.४ प्रतिशत पुरुष र ६४.९ प्रतिशत महिला साक्षरता रहेको यस पालिकाको कुल साक्षरता ७५.७ प्रतिशत रहेको छ । यहाँ बसोवास गर्ने ब्राह्मण, क्षेत्री, दलित लगायत विभिन्न जातजातिहरूले मुख्य गरी हिन्दु धर्म अवलम्बन गरी दशैं, तिहार, गौरा पर्व, विसु, ओल्के लगायतका पर्वहरू र विभिन्न स्थानीय मेलाहरू मनाउने गर्दछन् भने मुख्य पेसाको रूपमा कृषि, पशुपालन र वैदेशिक रोजगारी अँगालेका छन्। साँस्कृतिक रुपमा अजयमेरुकोट, डागेश्वरी मन्दिर, जगन्नाथ मन्दिर, कोला समैजी मन्दिर, सहश्रलिङ्ग मन्दिर, गंगेश्वर मन्दिर आदि महत्वपूर्ण मानिन्छन् । यस गाउँपालिकामा हाल ३० सामुदायिक र १ निजि गरि जम्मा ३१ विद्यालयबाट आधारभूत शिक्षा प्रदान गरिनुका साथै १३ वटा स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिदै आएका छन् ।
 

//